पानस साकोसको १३ औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः सुशन राजवंशी
काभ्रे । बनेपामा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सुशन राजवंशीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बिजेन्द्र पोटे, सचिवमा पुष्कर रञ्जितकार र कोषाध्यक्षमा सुमन बैद्य रहेका छन् । त्यसैगरी सञ्चालक समिति सदस्यमा श्याम सेवाचार्य, ईश्वर महाजु र राजु पहि श्रेष्ठ रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजक हरिगोपाल वैद्य र सदस्यहरुमा रामेश्वर महाजु तथा अमृत सेवाचार्य चयन भएको संस्थाले जनाएको छ । सभाले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सभामा अध्यक्ष सुशन राजवंशीले सहकारी मुल्य मान्यता अनुरुप सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि ससानो पुँजीलाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट एकिकृत रुपमा संकलन गरी सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको बताए । संस्थाका सचिव पुष्कर रञ्जितकारले आर्थिक वर्ष २०७७।७८ को प्रगति प्रतिवेदन, संस्थाको विनियम संशोधन र चालु आ.व.को प्रस्तावित तथा लक्षित कार्यक्रमहरु सभामा प्रस्तुत गरेका थिए । संस्थाले सदस्यहरुलाई विभिन्न विप्रेषण सेवा रिचार्ज एवं बील भुक्तानी सेवा, मोबाइल डिजिटल सेवा, सुत्केरी खर्च जस्ता सेवासुविधा प्रदान गर्दै आएको उनले जानकारी गराए ।
चालु आ.व.मा महिला सदस्यहरुलाई आयमूलक तथा सीपमूलक तालिम दिइ आर्थिक क्रियाकलापमा सहभागी गराउने, शेयर तथा बचत वृद्धि गर्न विभिन्न स्किमहरु ल्याउने, सञ्चालक समिति, उपसमिति र कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्ने जस्ता नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
संस्थाका कोषाध्यक्ष सुमन वैद्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्त सम्म शेयरपुँजी १ करोड ९७ हजार, बचत संकलन ७ करोड ९२ लाख ९३ हजार, ऋण लगानी ६ करोड ३० लाख २३ हजार गरी कुल कारोबार ९ करोड ७१ लाख ८३ हजार पुगेको बताए । संस्थाको जगेडा तथा अन्य कोषहरुमा ३५ लाख ५० हजार पुगेको छ । संस्थाले त्यस अवधिमा १३ लाख १९ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थामा २२१९ जना सदस्य आवद्ध रहेका छन् ।