बागमति प्रोस्कुनको प्रथम वार्षिक साधारण सभा सपन्न, ‘विभिन्न संस्था र व्यक्ति सम्मानित’
काभ्रे । बागमती प्रदेशमा छुट्टै सहकारी मन्त्रालय गठन हुने भएको छ । भूमि तथा सहकारी र गरिवी निवारणको जिम्मेवारी सम्हाल्नेगरी छुट्टै मन्त्रालय गठन गर्न लागिएको छ ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमति प्रोस्कुन)को बनेपामा सम्पन्न प्रथम बार्षिक साधारण सभामा बोल्दै रजिष्ट्रार नारायण ज्ञवालीले कृषि तथा पशुपंक्षी मन्त्रालय छुट्टै बन्ने बताउनुभयो ।
बागमति प्रदेशमा दैनिक सहकारीका ४।५ वटा उजुरी आउने गरेको उनले बताए । सहकारीले बढी हर्जाना, सेवा शुल्क र ब्याज लिएको गुनासा आउने गरेका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय नियमनकारी निकाय मात्र भएकोले जग्गा रोक्का जस्ता कार्यका लागि निर्देशन दिन नमिल्ने कानुनी प्रावधान रहेकोले यस्ता विषयमा सहकारी महासंघलगायतका छाता संगठनले आवज उठाउनु पर्ने उहाँले बताउनुभयो ।
संघले साधारण सभाको अवसरमा विभिन्न संघ संस्था तथा ब्यक्तीलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उत्कृष्टहरुलाई सम्मान गर्नुभएको थियो ।
यसैक्रममा सभामुख श्रेष्ठले सहकारीले गरिवी निवारणमा मुख्य भूमिका खेल्नु पर्ने बताउनुभएको थियो । उहाँले सहकारीमा सुशासनको कमी देखिएको बताउनुभएको थियो ।
संघका अध्यक्ष उद्धव सापकोटाले संघ दर्ताको समयमा प्रदेशका ८२ वटा संस्था आवद्ध रहेको जानकारी दिए । उहाँले संघले सहकारीमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका खेलेको, तालिम शिक्षालगायतको कार्य गरेको बताउनुभएको थियो ।
बागमती प्रदेश बचत संघले स्थानीय तहहरुमा सहकारी ऐन नियम निर्माणका लागि सहयोग गरेको पनि उहाँले बताउनुभयो ।
संघले साधारण सभाको अवसरमा उत्कृष्ट बचत संघ, उत्कृष्ट कारोबार संस्था, उत्कृष्ट जिल्ला बचत संघ र सहकारी विद्यता विधामा संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ, प्रदेश उत्कृष्ट संस्थामा सामुदायिक बचत तथा ऋण सहकारी सस्था तथा उत्कृष्ट संस्थामा एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी जिरी रहेको छ भने नेफ्स्कूनका पूर्व सिइओ शिवजी सापकोटालाई सहकारी विद्यता व्यक्तित्वबाट सम्मान गरेको छ ।
संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले संघको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद दंगालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव जिवसराज खड्काले संचालन गर्नुभएको थियो ।