‘बङ्गलादेशसँग पैँचो मागेको साढे तीन महिनापछि मल किन्न नेपाल सरकारको सम्झौता’
काठमाडौं । नेपाल र बङ्गलादेश बीच युरीया मल पैँचो लिने वार्ता भएको साढे तीन महिनापछि बिहीबार दुई देशबीच नेपालका लागि बङ्गलादेश सरकारले आपूर्ति गराउन एउटा आधिकारिक सम्झौता भएको छ । साढे तीन महिना अघि प्रधानमन्त्री केपी शर्मा ओली र नजिकको तेस्रो छिमेकी मुलुक बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच नेपालका लागि युरिया मल आपूर्ति गराइदिने विषयमा टेलिफोन वार्ता भएको थियो ।
दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा नेपालका प्रधानमन्त्री ओलीले बङ्गलादेशबाट ५०,००० मेट्रिक टन युरिया मल पैँचो मागेका थिए ।
तर युरिया मल पैँचो ल्याउन सम्भव नभएपछि (जीटुजी) अर्थान् बाङ्ग्लादेश सरकारबाट नेपाल सरकारले किन्नेबारे बिहीवार सम्झौता भएको बङ्गलादेशस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अबको १० दिनमा बङ्गलादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउने गरी काम भइरहेको दुतावासले जनाएको छ ।

