मौद्रिक नीति ल्याउन राष्ट्र बैंक आनाकानी, गभर्नरको आलोचना
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाई गर्दा गभर्नर महाप्रसाद अधिकारीको आलोचना हुन थालेको छ । तर गत वर्षको मौद्रिक नीतिबाट कोभिडबाट प्रभावित अर्थतन्त्रलाई बचाउन भूमिका खेलेको भन्दै गभर्नर अधिकारीले उच्च प्रशंसा बटुलेका थिए ।
सामान्यतया साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्न लाग्दा पनि जारी नभएपछि राष्ट्र बैंक तथा गभर्नरको आलोचना हुन थालेको हो । अर्थमन्त्रीको निर्देशनमा मौद्रिक नीतिको समय सारेर गभर्नरले राष्ट्र बैंकको स्वायत्तता जोगाउन नसकेको तथा वित्तीय क्षेत्रमा नीतिगत भ्याकुम सिर्जना भएको भन्दै गभर्नरको आलोचना भइरहेको छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति अन्तिम चरणमा पुर्याएका बेला सरकार परिवर्तन भयो । त्यसपछि अर्थमन्त्री जनादर्न शर्माले प्रतिस्थापन विधेयक ल्याउने र त्यो समयसम्म कुर्न भनेपछि मौद्रिक नीति ल्याउने समय अन्यौल भएको छ । मौद्रिक नीति रोकेको र राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि दुवै पक्षले प्रतिवाद गरिरहेका छन् ।