पानस साकोसको १२ औं साधारणसभा सम्पन्न

बनेपा । बनेपास्थित पानस बचत तथा ऋण सहकारी संस्था लि.ले १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सहकारी विभागको निर्देशन अनुरुप कार्तिक १८ देखि २४ गतेसम्मको समयावधिमा स्वास्थ्य मापदण्डसमेत पालना गरी साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रबन्धक रोशन मानन्धरले बताएका छन् ।
सभामा संस्थाका अध्यक्ष सुशन राजवंशीले कोरोनाको महामारीका बेलामा पनि स्वास्थ्य सजकता अपनाई संस्थाको गतिविधिलाई सुरक्षित र संयमितताका साथ बढाएर आर्थिक गतिविधिलाई चलायमान बनाउन प्रयास गरेको बताएका छन् ।

संस्थाका सचिव पुष्कर रञ्जितकारले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । उनले संस्थाले सदस्यहरुलाई दिने सेवा सुविधा तथा चालु आवको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष सुमन बैद्यले आ.व. २०७६÷७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल कारोबार ९ करोड ४४ लाख भएको बताएका छन् । त्यसैगरी ९३ लाख ७६ लाख शेयरपूँजी, सात करोड ८३ लाख बचत संकलन तथा ६ करोड ९५ लाख ऋण लगानी र जगेडा सहित विभिन्न कोषहरुमा २६ लाख ९७ हजार पुगेको छ । संस्थाले सो अवधिमा ११ लाख ४६ हजार कुल मुनाफा आर्जन गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै महिला सदस्यहरुलाई सुत्केरी खर्च र सदस्यको मृत्यु भएमा परिवारलाई किरिया खर्च समेत उपलब्ध गराउँदै आएको प्रबन्धक मानन्धरले बताएका छन् ।