सुविधा सम्पन्न भवन निर्माण गर्दै मिलिजुली कालिञ्चोक साकोस
दोलखा । दोलखाको चरिकोटस्थित मिलिजुली कालिञ्चोक साकोसले ५ करोड ४४ लाख लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्य सुरु गरेको छ ।
भिमेश्वर नगरपालिका वडा नं. ६, चरिकोट बिचबजारमा संस्थाले सुविधा सम्पन्न पाँच तलाको भवन निर्माण गर्न लागेको हो ।
कुन ५ करोड ४४ लाख ६३ हजार ६ सय २८ रुपैयाँ लागत निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा चाङ्मिला कौशिल बस्नेत जेभिले पाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले मिडिया क्लब नेपाललाई बताउनुभयो ।
संस्थाको भवन निर्माणको लागि भीमेश्वर न.पा. को पोर्टल प्रयोग गरी ईबिडिड्ड मार्फत् ठेक्का प्रक्रिया अगाडि बढाईएको थियो । संस्थाले प्रकासन गरेको टेण्डर सुचना अनुसार सात वटा निर्माण ब्यवसायिहरुले ठेक्का आवेदन दिएका थिए । आर्थिक प्रस्ताव बिश्लेषणमा चाङ्मिला कौशिल बस्नेत जे.भी. लाई छनोट गरिएको बताइएको छ । कुल ठेक्का रकम ७ करोड ३७ लाख १४ हजार ५ सय १९ रुपैया भएकोमा ईबिडिड्ड मार्फत् भएको ठेक्का प्रक्रियामा २६.०९ प्रतिशतले घटी ५ करोड ४४ लाख ६३ हजार ६ सय २८ रुपैयामा चाङ्मिला कौशिल बस्नेत जे.भी. ले ठेक्का पारेको बताइएको छ ।
चाङ्मिला कौशि बस्नेत जे.भी. सँग २०७७ साल असार ७ गते सम्झौता भएको थियो । उक्त भवन निर्माण कार्य २०७९ साल असार मसान्त भित्र सक्ने गरी ठेक्का सम्झौता भएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनुभयो ।
निर्माण कम्पनीले गत माघ २ गते बाट निर्माण कार्य सुरु गरिसकेको छ ।