‘राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले-एमालेबीच नै प्रतिस्पर्धा’
काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ । स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।
देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहनु भएको छ ।
बागमती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।