‘मण्डनदेउपुर नगरपालिका : जनताको आँखामा छारो हाल्दै नुनको सोझो’
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कच्ची सडकमा टिपर र ट्रयाक्टर संञ्चालन गर्न रोक लगाएको छ ।
वर्षातको समयमा हुने क्षती न्युनीकरण तथा सडकको वर्तमान अवस्थालाई सुरक्षित राख्नु पर्ने भएकाले नगरकोे पक्की बाहेकका सबै सडक खण्डहरुमा टिपर र ट्रयाक्टर संञ्चालन गर्न रोक लगाईएको नगरपालिकाले बताएको छ । तर विगतका वर्षहरुदेखि नै नगरपालिकाका मेयर टोपबहादुर वाइबाले मेलम्ची इन्द्रावती स्टोन प्रा.लि. उद्योगलाई मात्र पोस्नका लागि यस्तो सूचना जारी गरिएको पाइएको छ । मण्डनदेउपुर नगरपालिकाले जनतालाई सडक बचाउन भनि यस्तो सूचना निकाले पनि नगरका मेयर वाइबाको भित्री मनसाय मेलम्ची इन्द्रावती स्टोन प्रा.लि.को वर्षे व्यापार बढाइदिने मात्र हो ।
नगरले गुणस्तरहीन सडक निर्माण गर्ने, कच्ची सडकहरुमा ट्याक्टर, ट्रक गुड्न नदिने भएपछि किसानहरुको धान, पराल, मकै ओसार्न अप्ठेरो भएको किसानहरुले गुनासो गरेका छन् । ट्रक टिपरमा प्रतिबन्ध लगाएपछि सिमित आफ्ना आसेपासेलाई मात्र सिफारिसका आधारमा चल्न दिँदै आएका छन् ।
त्यसो त मेलम्ची इन्द्रावती स्टोन प्रा.लि.को कच्चा पदार्थ संकलनमा व्यवधान आए स्वयं मेयर नै रोकावट हटाउन लागि पर्ने स्थानीयले बताएका छन् ।
मेयर वाइबाकै संरक्षणमा सञ्चालित खानीबाट उत्पादित गुणस्तरहीन ढुंगा तथा ग्राभेल मण्डनदेउपुर नगरपालिकाका सडकहरुमा प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको निर्माण व्यवसायीले नाम नभन्ने शर्तमा बताएका छन् ।