काभ्रेको कोशिपारी र डाँडापारी : सडक छ तर सवारी चल्दैन, ‘यात्रुलाई सधै सकस’
काभ्रे । संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्ला दुरीका हिसाबले समृद्ध भइसक्नुपर्ने हो । तर काभ्रे जिल्लाको डाँडापारी र कोशिपारी अझै पनि विकट नै छन् ।
काभ्रेको कोशीपारी क्षेत्रको अरनिको कोशीपूर्व सडक वि.सं. २०५० साल वैशाख १ गतेदेखि खन्न शुरु गरिएको हो । दोललघाटबाट सडक छिचोल्न शुरु गरेको २८ वर्ष पूरा भइसकेको छ, तर स्तरोन्नति नहुँदा सधै सवारी चल्ने अवस्था भने छैन ।
कोशीपारी क्षेत्रका भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल त जोडिएको छ छर ती सडकहरुमा गाडि भने गुड्दैनन् । हिउँदको समयमा धुलाम्य र वर्षादको समयमा हिलाम्य हुने समस्याको कारण त्यस भेगका बासिन्दा र यात्रुले सधै सकस मात्रै भोग्दै आएका छन् । दोललघाटबाट सल्ले, चौवाससम्म एउटै सडक र त्यसपछि दुति नाग्रे, माझिफेदा, मादन कुँडारी, रामेछापको शैलुङ, डोरखानी, गुराँसेलगायतका ठाउँसम्म पुग्ने अलग-अलग सडक खनिएका छन् । तर, एउतै पनि गाडी गुड्न लायक छैनन् ।
भुम्लु गाउँपलिकाको कोलातीदेखि चौरी-देउराली गाउँपालिकाको पोखरीचौरीको अरनिको माध्यमिक विद्यालयसम्मको २६ किलोमिटर सडक केही समय पहिला कालोपत्रे भएको छ । सोही सडक हुँदै हिउँदको समयमा रामेछापको गुँरासेसम्म दैनिक यात्रुवाहक बस चल्ने गरेको पनि वर्षाको समयमा भने चौरी देउरालीको पालिका भवनसम्म जाने गरेको स्थानीयहरुले बताएका छन् ।
काभ्रे जिल्लाको साविकको ९९ गाविसमध्ये १७ गाविस अहिलेको चौरी-देउराली र भुम्लु गाउँपालिका कोशीपारी क्षेत्रमा पर्छ । बत्तीमुनिको अध्यरो भनेझैं त्यो क्षेत्र अहिले पनि विकासोन्मुख अवस्थमा छ । बल्लतल्ल सडक बनेपनि मापदण्ड अनुसार छेउ कुनामा पानीको नाली नबन्दा सामान्य वर्षामा समेत गाडी गुड्न सक्दैन । सडकको माटो बगाएर खाल्डा-खुल्डी पर्ने र ठाउँ-ठाउँमा भत्किने हुँदा सवारी संचालनमा समस्या हुने गरेको छ । त्यस्तै, हिउँदको समयमा धुलाम्मे सडकको धुलोले मानिसको रुप नै चिन्न नसक्ने अवस्था हुने गरेको यात्रुहरुको गुनासो छ ।
यस्तै अवस्था काभ्रेको डाँडापारी क्षेत्रमा पनि छ । डाँडापारी क्षेत्रमा सडकको ट्रयाक खुलेका छन् । तर ती ट्रयाकहरु इन्जिनियरिङ मापदण्ड विपरित निर्माण भएका र निर्माणपछि स्तरोन्नति पनि नभएकाले सडक नाममा मात्र सिमित छ । डाँडापारी क्षेत्रका खानीखोला गाउँपालिका, महाभारत गाउँपालिकाका सडकहरुमा गाडि गुड्दैनन, हिउँदमा बल्ल तल्ल सास्तीले मात्रै गुड्छन् । त्यस क्षेत्रका बासिन्दाले सधै सास्ती खेप्नुपरेको छ ।
जिल्लाका विकट क्षेत्रमा व्यवस्थित सडक सञ्जाल र पूर्वाधारयुक्त व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयौं बिरामीले अकालमै ज्यान समेत गुमाइरहेका छन् ।