बेमौसमी वर्षाले धानबालीमा ‘६ अर्बको क्षति’
काठमाडौं । कार्तिकमा आएको असामान्य परिमाणको वर्षाले देशको पूर्वदेखि पश्चिमसम्मै व्यापक जनधनको ठूलो क्षति पुगेको छ । वर्षाले खासगरी धानबालीमा ठूलो मात्रामा क्षति पु¥याएको छ ।
कतै खडाबाली डुबेका छन भने कतै काटिसकेका धान डुबेका छन् ।
कृषि मन्त्रालयले देशभरिको क्षति विवरण सङ्कलन गरिरहेको र स्पष्ट तथ्याङ्क आइनसकेको बताइएको छ ।
हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार लुम्बिनी प्रदेशको १० जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा धानबाली प्रभावित भएको र करिब चार अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी आएको छ ।
त्यस्तै सुदूरपश्चिममा कैलालीमा ५२ प्रतिशत अनि कञ्चनपुरमा ४० प्रतिशत धानबालीमा नोक्सानी भएको विवरण प्राप्त भएको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
खासगरी चाँडै मौसममा सुधार आएर खेतमा जमेको पानीले निकाश पायो भने डुबेका खडाबाली उल्लेख्य जोगाउन सकिने विज्ञहरुले बताउँदै आएका छन् ।
कृषि मन्त्रालयको अहिलेको प्रारम्भिक विवरणअनुसार उत्पादनमा करिब २ लाख मेट्रिक टनको क्षति भएको छ भने त्यसको मूल्य करिब ६ अर्ब रुपैयाँ बताइएको छ ।
प्रदेश नं १ को हकमा चाहिँ करिब ५० हजार हेक्टर क्षेत्रफलमा असर परेको तर पूर्ण क्षति भने २–३ प्रतिशतकै हाराहारीमा रहने ठानिएको छ ।
प्रदेश नं २ का पनि कतिपय जिल्लामा असर परेको तर तराई क्षेत्रमा अन्यत्रभन्दा ढिलो धान रोपाइँ गर्ने प्रचलन रहेकाले लामो समय खेत डुबान नभए धेरै क्षति नहुने बताइएको छ ।
कर्णाली प्रदेशमा करिब २० प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान त्यहाँको कृषि निर्देशनालयले जानकारी दिएको छ ।