२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

दोलखाको विगुमा जनसचेतनको स्वास्थ्य शिविर, ७ सयभन्दा बढीले लिए स्वास्थ्य सेवा


दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय भन्दा बढीले सेवा लिएका छन् ।
विगु गाउँपालिकासँगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँच सम्बन्धी सेवा लिएको उक्त सहकारीले जनाएको छ । शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो ।
२ दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार विगु ५ खार्तल स्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै ४ सय र दोस्रो दिन मङ्गलबार विगु ६ स्थित आलम्पु स्वास्थ्य चौकी र ७ स्थित स्वास्थ्य चौकीमा करिव ३ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधीको सुविधा लिएको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिए ।


शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भिर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिए ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितीमा खोपाचागुमा औपचारिक रुपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै जनसचेतन साकोसका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तिय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरिएको र शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको बताए । चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना हुने र त्यसमा आम नागरिक, शेयर सदस्य र सम्बन्धित निकायको उत्तिकै सहयोग र सहकार्य प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।
दोलखाको मैनापोखरीमा मूख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै ३ वटा सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आबद्ध उक्त संस्थाको गत माघ महिनासम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि